हामी यसलाई सरल तरिकामा यसरी व्यक्त गर्न सक्छौँ:
यदि तपाईंले आफूलाई ध्यान दिनुभयो भने, यो थाहा
पाउनुहुनेछ कि तपाईं रिसाएको बेला एउटा तरिकाले बस्नुहुन्छ, जबकि खुसी भएको बेला अर्को तरिकाले बस्नुहुन्छ ।
यदि तपाईं उदास हुनुहुन्छ भने, अर्कै तरिकाले
बस्नुहुन्छ । तपाईंको चेतना, मन वा भावनाको
अवस्था जस्तो हुन्छ, सोहीअनुसार
तपाईंको शरीर बेग्लाबेग्लै आसनहरूमा रहन्छ । यसको ठीक विपरित पाटो भनेको योग–आसनको विज्ञान हो । यदि तपाईंले सचेतनपूर्वक आफ्नो शरीरलाई विभिन्न
आसनहरूमा लैजानुभयो भने, तपाईं आफ्नो
चेतनालाई माथि उठाउन सक्नुहुन्छ । यो शरीरले कसरी काम गर्छ भनेर बुझ्नु, एउटा निश्चित वातावरण सृजना गर्नु तथा आफ्नो
शरीरको प्रयोग गरेर ऊर्जालाई निश्चित दिशामा अगाडी बढाउनु नै आसनहरूको ध्येय हो ।
२. अहिले अनेक थरीका योग गुरुहरूले योग सिकाउन
चाहनेहरूलाई प्रमाणपत्र दिने गरेको पाइन्छ । तर, सही अर्थमा कसरी योग शिक्षक बन्न सकिन्छ ?
सद्गुरु: योग भनेको
व्यक्तिपरक तकनिकी हो; यो वस्तुपरक होइन
। चाहे कोही ढाड दुख्ने समस्याबाट छुटकारा पाउनको लागि आऊन् वा रहस्यमय आयामहरूलाई
गहिराइमा खोज गर्न आऊन्, हामी उनीहरूलाई
एउटै अभ्यास सिकाउँछौँ, किनकि त्यसलाई
अवलम्बन गर्ने शैलीमा हुने परिवर्तनले नै त्यही उपकरण भिन्न मानिसहरूका निम्ति
भिन्न रूपमा प्रस्तुत हुन्छ ।
तसर्थ, जब तपाईंको हातमा
केही यस्तो कुरा सुम्पिइन्छ, जुन तपाईंले अहिले
बुझ्न सक्नेभन्दा निकै बढी गहन र गूढ छ, तब तपाईंले आफूलाई निश्चित अवस्थामा राख्नु अत्यन्तै
अपरिहार्य छ— आफू स्वयंभन्दा
आफ्नो अगाडि बसिरहेको व्यक्ति बढी महत्त्वपूर्ण हुनुपर्छ । यसलाई उपासना भनिन्छ । उपासना
अर्थात् तपाईं मुख्य आसनमा बसिरहनु भएको हुँदैन; अब आफ्नो जीवनमा
तपाईं आफूभित्र उप–आसनमा बस्न
रोज्नुहुन्छ । जो व्यक्तिले योग सिकाउन चाहन्छन्, उनको निम्ति
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफूलाई गाैण बनाउनु हो— त्यहाँ उपस्थित
हुने, तर आफूलाई गौण राख्ने । यदि
तपाईंले यति गर्न सक्नुभयो भने, तपाईंको बुझाइ र
अनुभवभन्दा पर रहेका आयामहरू खुल्न थाल्नेछन् । अनि, यो तपाईंको निम्ति सबैभन्दा ठूलो आशीर्वाद हुनेछ, किनभने यदि तपाईंले स्वयंभन्दा निकै माथि रहेको
कुरा आफूमा हुन दिन सक्नुभयो भने, मनुष्यको लागि
त्यो नै सबैभन्दा विशाल कुरा हो ।
३. अहिले सामाजिक सञ्जालहरूको कारण यू–ट्यूब लगायत अन्य थुप्रै माध्यमहरूबाट योग सिकाइन्छ, जहाँ मानिसहरू घरमै बसेर अभ्यास सिकिरहेका
हुन्छन् । के योगलाई त्यसरी अवलम्बन गर्नु सुरक्षित छ ?
सद्गुरु: योग एकदमै
प्रतिबद्ध र सुरक्षित वातावरणमा गरिनुपर्छ, किनभने यो जीवन
रूपान्तरणको निम्ति उल्लेखनीय साधन हो । यदि कुनै कुरामा रूपान्तरण गर्ने शक्ति
हुन्छ भने, त्यसलाई जथाभावी
प्रयोग गरिएमा त्यसले क्षति समेत
पुऱ्याउन सक्दछ ।
तथापि, मानिसहरूले उप–योगको अभ्यास गर्न सक्छन्, जसले शारीरिक र
मानसिक लाभ प्रदान गर्छ, तर आध्यात्मिक
आयामलाई भने छुँदैन । उप–योगको लागि योगमा
जस्तो प्रतिबद्धता चाहिँदैन, साथै यसमा अलिकति
यताउता भयो भनेपनि, यसले नकरात्मक असर
गर्दैन, किनभने यो यति सरल छ कि तपाईं
यसलाई जथाभावी गर्नै सक्नुहुन्न !
आजभोलि उपयोग शब्दलाई "काम लाग्ने"
भन्ने अर्थमा प्रयोग गरिन्छ । तर, यसको वास्तविक
अर्थ सहायक योग अर्थात पूर्व–योग हो । तपाईं
यसलाई पाँच मिनेटमै सिक्न सक्नुहुन्छ, अनि जहाँसुकै यसको
अभ्यास गर्न सक्नुहुन्छ । व्यापक रूपमा अधिकांश मानिसहरूमाझ योग पुऱ्याउनको लागि
उप–योग सुरक्षित अभ्यास हो । जब
मानिसहरूले उप–योग गरेर यसका
फाइदाहरू अनुभव गर्छन्, तब उनीहरू
स्वाभाविक रूपमा अझ गहिरो रूपमा योग सिक्नचाहनेछन्, र त्यसबेला नै
मानिसहरूको जीवनमा योगको आगमन हुनु उचित हुनेछ ।
४. पश्चिममा योग व्यापक रूपमा फैलिरहेको छ, तर सँगसँगै अन्य किसिमका योगहरूको पनि जन्म भएको
छ, जस्तै कि पूल (pool) योग, नियन (neon) योग इत्यादि ।
यसले योगको अभ्यासमा कस्तो असर पार्दछ ?
कुनै पनि कुरा
लोकप्रिय हुँदै जाँदा, त्यसलाई व्यवसायिक
रूपमा प्रयोग गर्ने सम्भावना रहेको हुन्छ । हामीहरू त्यसबाट विचलित हुन जरूरी छैन
। तर, के उनीहरूले सही तरिकाले
सिकाइरहेका छन् ? त्यसमा प्रश्न
उठाउन सकिन्छ । केहीले उचित तरिकाले सिकाइरहेका छन्, जबकि केहीले आफ्नै तरिकाले । योगलाई व्यवसायकि रूपमा प्रयोग गर्न
खोजिएकोले नै यस्ता अनेक थरीका योगहरूको जन्म भएको हो । तर, सतही रूपमा मात्रै यसलाई बङ्गयाउँदै लगिएको छ ।
योगको मूल प्रकृतिमा कुनै पनि विचलन भएको छैन ।
५. अहिले थुप्रै संस्थाहरूले योग कक्षाहरू
सञ्चालन गरिरहेका छन् । तर, सही योग गुरु कसरी
पत्ता लगाउन सकिन्छ ?
सद्गुरु: प्राचीन कालमा
अध्यात्मिक अभियानहरूमा गुण नियन्त्रण (Quality
Control) को प्रक्रिया हुने गर्थ्यो । तर, ती कुराहरू लोप
हुँदै गएका छन् । यहीकारण अहिले अनेक थरीका हास्यास्पद योगहरू जन्मिएका छन् । कुनै
पनि अभ्यासको मूल्याङ्कन गर्नको लागि त्यसले तपाईंको निम्ति काम गरिरहेको छ वा छैन
भनेर हेर्नुपर्ने हुन्छ । तपाईंलाई जे प्रदान गरिएको छ, त्यसलाई आफ्नो जीवनमा प्रयोग गरेर हेर्नुहोस्— यदि काम गरिरहेको छ भने जारी राख्नुहोस्, अन्यथा त्यसलाई छोडेर अर्को कुराको खोजी
गर्नुहोस् ।
६. योगको बारेमा यति धेरै चर्चाहरू भइरहेका छन्, तर सही अर्थमा योगको मार्गमा कसरी अघि बढ्न
सकिन्छ ?
सद्गुरु: योग भनेको बिहान–बेलुकी गरिने अभ्यास होइन । अवश्य पनि यसमा अभ्यास हुन्छ, तर अभ्यास मात्र सबैथोक होइन । तपाईंको जीबनको हरेक पाटोमा योग हुनुपर्छ— तपाईं जसरी हिँड्नुहुन्छ, जसरी श्वास फेर्नुहुन्छ, अरूसँग जसरी अन्तरक्रिया गर्नुहुन्छ, सबै पक्षहरू योगको प्रक्रिया बन्नुपर्छ । यसमा केही पनि छुट्नु हुँदैन ।
वास्तवमा भन्नुपर्दा, योग तपाईंले गर्ने कुरा होइन; तपाईं स्वयं योगमा रहनुपर्छ । योग कुनै कार्य
होइन; यो त गुण हो । यदि तपाईंले
आफ्नो शरीर, मन, भावना र जीवन ऊर्जाहरूमाथि काम गरेर तिनलाई
परिपक्व बनाउँदै लैजानुभयो भने, तपाईंभित्र एउटा
विशेष गुणको उदय हुन्छ । त्यही योग हो । के अभ्यासहरूले त्यो गुण ल्याउन सहायता
गर्छन् ? निश्चय पनि, तर हामी तपाईंलाई
केही मिनेटको लागि गर्ने अभ्यासको रूपमा योग सिकाउँदैनौँ ।
यदि तपाईंले बगैँचाको राम्रो हेरचाह गर्नुभयो भने, स्वतः फूलहरू फुल्नेछन् । त्यसैगरी, यतिखेर तपाईं जसलाई "म" भन्नुहुन्छ, त्यसको उचित हेरचाह गर्नुभयो भने, यो पनि प्रस्फुरित हुनेछ । यसको अर्थ के हो भने, शान्त रहनु, खुसी रहनु, आनन्दित रहनु जस्ता कुराहरू बाहिरी
परिस्थितिहरूले निर्धारण हुने होइन— यो तपाईंबाटै
निर्धारित भइरहेको हुन्छ । प्रत्येक व्यक्तिले आफ्नो लागि त्यति त गर्नैपर्छ ।
Nice
ReplyDelete