०७१ असोज २९ गते, लुम्बिनी !
साँझ मायादेवी मन्दिरलाई पश्चिम छाडेर उत्तर जाने बाटोमा यत्तिकै टहलिँदै गर्दा मैले बाटो पूर्वबाट पेट्रोलियम पदार्थले चलाएको पानी तान्ने पम्पसेटको आवाज र गन्ध सुनेँ, सुँघेँ । कात्तिकमा धान काट्ने बेलामा खेतमा पम्पसेट ! हो, त्यो पम्पसेट नै थियो । त्यो पम्पसेट र खेतका धनी पम्पसेट–छेउमै बसेका थिए ।5550
‘बर्खामा धान रोप्ने बेलामा पानी परेन र पम्पसेटले पानी तान्नुपर्यो । अहिले धान काट्ने बेला हावा चल्यो, धान ढालिदियो । पानी फाल्न पम्पसेट चलाउँदै छु । किसानलाई दोहोरो मार,’ उनले भने । केही दिन पहिले हिमालयसँग जुध्न भनेर बंगालको खाडीबाट दौडेको हुदहुद आँधी यही बाटो आएछ । बेला न कुबेला हावा चलाएछ, पानी पारेछ, किसान र धान दुवैलाई ढालेछ, डुबाएछ । यस्ता समस्या किन आउँछन् र यिनबाट मुक्ति पाउन के गर्नुपर्छ भन्नेबारे मै हुँ भन्ने विद्वान्, सरकार र किसान कसैलाई पनि ज्ञान छैन । त्यसैले यस्ता सांसारिक दुःख देखेर हामी विरक्त हुन मात्र सक्छौं । यस्तै विरक्ति आएका बेला मेरा खुट्टा उनै सिद्धार्थ गौतम जन्मेको ठाउँतिर चले । बुद्ध जन्मिएको ठाउँछेउ पुगेर म थुचुक्क बसेँ । यस्तैमा एक जना अलि वृद्ध मानिस मेरो तन्द्रामा आएर भने, ‘संसारकै महान् आख्यानकार महात्मा बुद्ध जन्मेको ठाउँमा बसेर के कस्तो आख्यानका लागि सामग्री बटुल्न लागिस् ?’ आख्यानकार बुद्ध ?’ मलाई आश्चर्य लाग्यो ।
‘हो, महान् आख्यानकार महात्मा बुद्ध ! यसमा आश्चर्य मान्नुपर्ने के कारण छ र !’
‘तिमी पनि आख्यानकार हौ कि क्या हो ?’ दुर्गालाल श्रेष्ठको यो एक लाइन–फूलको आँखामा फूलै संसार– सम्झिएर मैले सोधेँ । ‘हो, म पनि आख्यानकार हुँ । पाकिस्तानमा बस्छु । उर्दू भाषामा साहित्य र पत्रिकामा कोलम लेख्छु । मेरो नाम इन्तिजार हुसेन ।’ ‘मलाई असाध्यै मन परेको एउटा किताब तिम्रैजस्तो नाम भएका मानिसले लेखेको हुनुपर्छ । दिल्ली था जिसका नाम थियो त्यस किताबको नाम ।’ ‘हो, दिल्ली था जिसका नाम लेख्ने इन्तिजार हुसेन मै हुँ ।’
‘सलाम वालेकुम, मेरा प्रिय लेखक !’
दाहिने हात छड्के पारेर औंलाले निधारको छेउ छोएर मैले भनेँ । ‘दिल्ली था जिसका नाम मा निर्जन खांडू वनमा इन्द्रप्रस्थ नगर कसरी बसाइयो र यो नगर कसरी उजाडियो भनेर वर्णन गर्दा तिमीले कमाल गरेका छौ । तिमीले लेखेका दुईवटा वाक्य– महाभारतले क्या कमाल गरेको छ ! एक एक सर्पका नाम लेखेको छ !– म अहिले पनि सम्झन्छु ।’
‘मैले त्यो किताब उर्दूमा लेखेको थिएँ । उर्दू किताब, त्यो पनि पाकिस्तानी किताब नेपाल आइपुग्छन् ? अनि आम नेपालीले उर्दू किताब पढ्न सक्छन् ?’ ‘म उर्दू कामचलाउ बुझ्न सक्छु, तर लिपिले गर्दा उर्दू भाषामा लेखिएका कुरा पढ्न सक्दिनँ । मैले तिम्रो त्यो किताब युट्युबमा राखेको अडियो बुकमा पढेको हुँ ।’
‘हो, अडियो बुकले भाषाको सिमाना अलिकति भए पनि मेटिदिएको छ रे । हिन्दी बुझ्ने, तर फारसी–अरबी लिपि नबुझ्नेले पनि अडियो बुक सुनेर उर्दूको स्वाद लिन सक्छन् रे । इन्टरनेटले ठाउँको दूरी हटाइदिएको छ रे, उर्दू साहित्य लेखिने ठाउँभन्दा टाढाका मानिसले पनि यसको स्वाद लिन पाएका छन् रे ।’
‘म तिमीहरू जस्तो हिजो अस्तिको मानिस हुँ र ! महाभारतको लडाइँ अन्त्य भएर जसरी कुरु अधिराज्य दुई भागमा बाँडियो त्यसरी नै आजभन्दा धेरै वर्षअघि इंग्लिसस्तानसँगको लडाइँ सकिएपछि हिन्दुस्तान दुई भागमा बाँडिँदाखेरि नै म पच्चीस वर्षको भइसकेको थिएँ । त्यसैले नब्बे कटेपछि अहिले मलाई अडियो बुक र इन्टरनेटजस्ता नयाँ कुरा सिक्ने रहर र जाँगर छैन । मेरा रचना अनुवादका लागि अनुमति माग्दै इमेल आउने गर्छन् । ती इमेल पढ्ने र तिनको जवाफ दिने कामको जिम्मा मैले अरु (फारुखी सा’ब) लाई नै दिएको छु ।’
‘मोहम्मद पैगम्बरका समयमा इन्टरनेट र अडियो बुक हुन्थे भने उनले पनि तिनलाई हराम (वर्जित) ठान्दैनथे होला, हलालै (वैध) ठान्थे होलान् । त्यसैले तिमीले पनि यिनलाई छुनै हुँदैनजस्तो नगरे हुन्थ्यो ।’ यत्ति भनेर मैले यो प्रसंग टुंग्याएँ । बुद्ध कसरी महान् आख्यानकार भए भनेर उनलाई सोधेँ । उनले आफ्नो कथामार्फत मेरो प्रश्नको जवाफ दिए । ‘कथा लेख्न थालेका बेलामा म कथा भन्ने शैलीबारे घोत्लिन थालेँ । त्यसो गर्दा (हाल भारतको उत्तरप्रदेशमा रहेको मेरो घरवरपर हुने) रामलीला याद आयो । त्यसपछि मैले रामायण पढ्न थालेँ । त्यो पढ्दै जाँदा मलाई महाभारत पनि पढ्नुपर्छ भन्ने लाग्यो । त्यसका अठारै पर्व मैले धेरै पटक पढेँ । अठारै पर्व महाभारत छिचोल्ने मानिसले गंगामा डुबुल्की मार्दा जति नै पुण्य पाउँछ रे । मैले त्यति त्यति पुण्य पाएको छु ।’
‘त्यसपछि मलाई मैले महात्मा बुद्धका कुरा पढ्नुपर्छजस्तो लाग्यो । त्यतिबेला म आफैंलाई मलाई के हुँदै छजस्तो लाग्यो । म त सीधासाधा मुसलमान थिएँ । अहिले मलाई के कस्ता कुरा पढ्ने चाहना हुँदै छ भन्ने लाग्यो । मेरा एक जना साथीले मलाई सोधे— तँ त इस्लामको कुरा बहुत गर्थिस् । अहिले आएर तँ के गर्दै छस् ?
‘हो, म सीधासाधा मुसलमान थिएँ । तर, जब बदमास मानिस पनि मुसलमान भएको देख्न थालेँ तब मैले सोचेँ— मेरो लक्ष्य पूरा भयो । अब मैले इस्लामबाहिर निस्केर शयर गर्नुपर्छ, त्यहाँका साहित्यमा के छ, हाम्रा छिमेकी साहित्यमा के छ, इसाई के भन्छन्, श्रीकृष्णजी कुन अवतार थिए, बुद्धले के भनेका छन् भनेर खोतल्नुपर्छजस्तो लाग्यो । यसो गर्दा म मेरो पुग्ने ठाउँबारे एकदमै स्पष्ट थिएँ । त्यो हो— फर्केर आफ्नै ठाउँमा आउनु ।’
‘मेरा एक जना साथी थिए— शलोद्धिन मेहबुब । उनी पक्का मुसलमान थिए । उनी जतिबेला हजरत (इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर) को नाम लिन्थे, उनको अनुहार चम्किन्थ्यो । तर, उनी मीरा बाईका भजन बडा जोसहोसका साथ सुन्थे । एक पटक उनले मीरा बाईको भजनको नयाँ रेकर्ड फेला पारेछन् । त्यस खुसियालीमा उनले हामीलाई एक रात उनीकहाँ बोलाए । बिजुली बत्ती निभाएर कोठा अँध्यारो बनाएर उनले हामीलाई मीरा बाईको भजनको रेकर्ड एकाग्र चित्तले सुन्न लगाए, उनले पनि सुने ।’ ‘मैले उनलाई सोधेँ— तिमी यति सच्चापक्का मुसलमान भएर पनि मीरा बाईका भजन सुन्छौ ?’ ‘मीरा बाईको भजनबिना मेरो इस्लाम पूर्ण हुँदैन’, उनले जवाफ दिए ।
‘उनको जवाफ सुनेपछि मेरो हकमा पनि यही कुरा लागू होलाजस्तो लाग्यो । म आफ्नो ठाउँमा मुसलमान त हुँ, तर अरू धर्मसँग मेरो दुश्मनी छैन । मलाई के लाग्छ भने धेरथोर सच्चाइ तिनमा पनि हुन सक्छ । त्यसैले मैले महात्मा बुद्धका उपदेश पढेँ ।’‘खासमा कथा भन्ने कला मैले दुई जनाबाट सिकें ः मेरी हजुरआमा र महात्मा बुद्ध । ‘मलाई आफ्नो गाउँ याद आएका बेला (हिन्दुस्तानको अंशबन्डा हुन लागेपछि उनी आफ्नो गाउँ छाडेर हालको पाकिस्तान गएका थिए । त्यसैले पनि उनलाई आफ्नो गाउँको याद बढी नै आउँथ्यो) मलाई ती रातको पनि याद आउँथ्यो, जति बेला हजुरआमाले कथा सुनाउँथिन् । मैले उनले सुनाएका कहानी सम्झिएँ । तिनले मलाई पुराना कहानीप्रति रुचि जगाइदिए ।’ ‘ती कहानी पढ्दा मलाई हिन्दु परम्पराले जन्माएका कहानी याद आए । ती पढ्दै जाँदा मलाई लाग्यो— यहाँ कहानीको समुद्र मडारिएको छ । रामायण र महाभारतमा कथा भन्ने कस्तो बेजोड परम्परा छ भने कथा सुरु हुन्छ तर खत्तम हुने छाँटछन्दै आउँदैन ।’
‘यस्तै बेला मैले सम्झिएँ— महात्मा बुद्ध उपदेश दिन्थे । उपदेश दिँदा उनी कहानीमार्फत पो दिन्थे कि ? खोज्दै जाँदा जातक कथाबारे सुनेँ । जातक कथा के हो भन्ने कुरा मैले अंग्रेजीमा पढेँ । उनका केही उपदेश पढेपछि मैले त्यहाँ पनि कथाकहानी छन् भन्ने थाहा पाएँ । मैले किताबका मामलामा धेरै धनी मेरा एक जना साथीलाई महात्मा बुद्धको जातक कथाको संग्रह खोजिदिन भने । उनले खोजिदिए । त्यो पढ्न थालेँ ।’
‘जातक कथा (यस्ता कथा साढे पाँच सय जति छन् भनिन्छ) पढ्दै जाँदा मलाई अर्कै दुनियाँमा पुगेजस्तो लाग्यो । कथा पढ्न बीचमै छाडेर म आफ्ैं कथा लेख्न बसेँ । महात्मा बुद्धका जातक कथाले ममा कस्तो प्रभाव पारे भने म आफ्नै किसिमका जातक कथा लेख्न थालेँ । उनका बाँकी कथा खोज्दै पढ्न थालेँ ।’ ‘महात्मा बुद्धको कथा भन्ने तरिका मलाई अनौठो लाग्यो किनभने उनी भिक्षुहरूका बीचमा बसेका हुन्थे । गाउँ/नगर घुमेर आएका एक जना भिक्षुले आज मैले यस्तो यस्तो अनौठो कुरा सुनेँ भनेर भन्थे ।’
‘त्यो सुनेर महात्मा बुद्ध भन्थे— यस्तो कुरा पहिले पनि भएको थियो ।’
‘कहिले ?’ भिक्षुहरू सोध्थे ।
‘एक लाख वर्षपहिले । एक जना अजिब राजा थिए । उनले आफ्ना प्रजाको समस्यालाई यसो यसो गरेर हल गरेका थिए ।’‘भिक्षु छक्क पर्थे र भन्थे— ओहो यति गम्भीर विषय ! त्यस्ता महान् राजा पनि थिए ?’ ‘तिमीहरूलाई थाहा छ ती राजा को थिए ?’ बुद्ध सोध्थे र जवाफ दिन्थे, ‘त्यो राजा म थिएँ ।’
‘अच्छा, तपाईं हुनुहुन्थ्यो ?’‘हो, म थिएँ ।’
‘एक लाख वर्षपहिले ?’ हो, एक लाख वर्षपहिले म थिएँ ।’
‘मेरो आखिरी समय आइसकेको थियो । त्यसपछि मैले बट्टाईको कोखमा जन्म लिएँ ।’ उनी यसरी कथा भन्थे । कस्तो कथाकार ! एक ठाउँमा बसेको छ । उसको सम्झनामा यति धेरै कुरा छन् । संसारमा भएका हरेक घटनामा आफू संलग्न भएको बताउँछ । मुस्किल परेका बेला आफूले सहयोग गरेको बताउँछ ।’
‘कथा भन्ने यो शैली मलाई रोमाञ्चक लाग्यो । मैले जातक कथा पढेका बेलासम्म साहित्यमा अहिले भनिएजस्तो म्याजिक रियालिजमको चलन आइसकेको थिएन । मैले महात्मा बुद्धका कहानीमा यसको स्वाद पाउन लागेँ । मैले त्यही शैलीमा कहानी लेख्न थालेँ, जानी नजानी उनको सिको गर्न कोसिस गरेँ । मेरा कहानीमा महात्मा बुद्ध र भिक्षु ज्यादा आउँछन्, हिरोइन कम आउँछन् ।’
‘जातक कथा, रामायण र महाभारत पढेपछि मलाई हिन्दुस्तानका अहिलेका कथाकार/उपन्यासकार अजिबका लागे । कथाकहानी भन्ने हिन्दुको यति महान् परम्परा छ त्यसबारे उनीहरूलाई थाहै छैन । उनीहरू चेखव, डिकिन्सन, मोपाँसा, गोर्की आदिका पछि लागेका छन् । उनीहरू पो महात्मा बुद्ध बनेका छन् हिन्दुस्तानका कथाकारका लागि । आफ्ना धर्तीमा यति ठूला कथाकार पैदा भएका थिए भन्ने ख्याल उनीहरूलाई छँदै छैन ।’
महात्मा बुद्ध महान् कथाकार भएको कुरा मानेँ । पोहर साल मेन बुकर प्राइजको सर्ट लिस्टमा परेका, उर्दू साहित्यको चेहरा बदल्ने यी उम्दा साहित्यकारसँग कुरा गर्ने अवसर मिलेका बेला शेरशायरीबारे कुरा किन नगरौं भन्ने लाग्यो । मैले सोधेँ— महात्मा बुद्ध कवि पनि थिए कि ?
‘त्यो त मलाई थाहा भएन । तर हामी मुसलमानका चाहिँ रगतका कण कणमा शेरशायरी छ । युवा जोसको विद्यार्थी, जवानीभर बन्दुक र आदेशसँग मात्र उठबस गरी थाकेर रिटायर भएको जर्नेल अनि नाफा नोक्सानसँग मात्र सरोकार राख्ने उद्योगपति सबैले शेरशायरी लेख्छन् । त्यस्ता शेरशायरीलाई भुलिदिनु नै बेस हुन्छ । जस्तो कि, मैले पनि शेरशायरी लेखेको थिएँ भने पनि त्यो मैले भुलिसकेको छु ।’
अकविता लेखेर त्यसलाई कविता भन्ने/भन्न लगाउने कविहरूलाई इन्तिजारले निःसर्त आममाफी दिए भने बुद्ध र कवितालाई जोडेर बढी कुरा किन कोट्याउनु भन्ने लाग्यो । इन्तिजार आफ्नो बाटो लागे । यहाँबाट ६०० किलोमिटर जति सीधा पश्चिम, भारतको उत्तरप्रदेशको उनी जन्मे–हुर्के–बढेको बुलन्द सहरतिर गए कि यहाँबाट ४०० किलोमिटर दक्षिण रहेको, सिद्धार्थ गौतमले बुद्धत्व पाएको ठाउँ बोधगयातिर थाहा भएन ।
एक्लै बसेर मैले सोचेँ— धान रोप्ने बेलामा खेतमा पानी लाउन र धान काट्ने बेलामा खेतको पानी फाल्न पम्पसेट लगाउनुपर्ने दिन प्रकृतिले वा मानवले कसरी सिर्जना गर्यो र यसबाट मुक्ति पाउने उपाय के हो भन्ने प्रश्नका जवाफ नपाए पनि बुद्धको जन्मभूमिमा आएको मलाई फाइदै भयो । एक जना सच्चापक्का मुसलमानका वचनबाट बुद्धत्वको सानो अंश मैले पाएँ । त्यो हो— आफ्नो ठाउँमा पुग्न, आफूलाई राम्रोसँग चिन्न अरूका ठाउँ घुम्नू । आफ्नो उज्यालो पहिल्याउन अरूले उज्यालो पारेका ठाउँको विचरण गर्नू ।
(इन्तिजार हुसेनसँग लुम्बिनीमा मेरो भेट भएको कुरा मात्र तन्द्राको हो । इन्तिजारका कुरा उनकै जिब्रो र कलमबाट लिएको हुँ ।)