नित्से जति रोगले
गाँजेका साहित्यकार बिरलै होलान् । यसका बाबजुद पनि उनले महानतम् कृति संसारलाई
दिन भ्याए । अतः इच्छाशक्तिको अगाडि सबै समस्या कमजोर हुने कुरा उनले साबित गरे ।
म कहाँ आऊ, म तिमीलाई मान्छे
भन्दा केही बढी बनाउन चाहन्छु– महामानव ।
जरथुस्त्रले भने भन्ने पुस्तकमा नित्सेले यस्तै कुरा लेखी
संसारभरका सामान्य मान्छेलाई मात्र हैन, विचारकहरूलाई समेत प्रभावित गर्न सफल भए ।
नित्से १८४४ मा
प्रसिया जर्मनीमा जन्मेका थिए । उनका बाबा पनि धर्म–दर्शनमा रुची
राख्ने पास्टर भएकाले जन्मजातै दार्शनिक रुझान् उनको रगतमा बगेको मान्न सकिन्छ ।
यिनै दार्शनिक प्रतिभाकै कारण उनी मात्र ३४ वर्षको कलिलो उमेरमा बेसलकोे
विश्वविद्यालयका प्रोफेसर बन्न सफल भए । यति सानो उमेरमा उनी भन्दा पहिला र पछि
पनि कोही प्रोफेसर भएनन् ।
युवाकालमा जवानीको
जोश थाम्न नसकी उनी बेश्यालय धाउन थाले । परिणामस्वरुप उनले कहिल्यै निको नहुने
रोग सिफलिस बोकेर आए । यस रोगबाट उनी शारीरिक र मानसिक रूपमा जिन्दगीभर पीडित रहे
। उनले जीन्दगीमा
सुखका दिन देख्नै सकेनन् । भनिन्छ, उनले जति पनि
शारीरिक र मानसिक पीडा बोकी बाँच्ने मान्छे धरतीमै बिरलै होलान् । यति हुँदाहुँदै
पनि उनले मानव जातिलाई नै गुण लाउने गरी जरथस्त्रले भनेजस्ता
पुस्तकहरू छोडेर जान भ्याए । उनले जस्तो पीडा सामान्य मान्छेले सहन परेको भए
आत्महत्या गर्थे होलान् । तर उनले यसै अपार दुःखमा टेकी महानतम् कृतिहरूको सिर्जना
गर्र्दै रहे । अन्ततः उनी मानसिक रोगी भएर सन् १९०० मा मरे । उनको एउटै वाक्यले
पनि संसारभरि तरङ्ग ल्याएको थियो र अझै त्यो तरङ्ग कायमै देखिन्छ– ईश्वर मरिसक्यो ।
यसका थुप्रै ब्याख्या हुनसक्छन् तर प्रष्टै सन्देश के हो भने आफूमाथि भरोसा गर, अरूको मुख नताक ।
र त उनले सबैलाई महामानव वा अति मानव बन्ने सन्देश छर्न भ्याए । संयोगबस हिटलर पनि
नित्सेबाट प्रेरित भए – ईश्वर मरिसक्यो र त डर के को ? एक कलाक्षेत्रमा
असफल हिटलर राजनीतिमा अति मानव बन्न सफल भए, नित्सेकै कारण । तर नित्सेको सन्देश भने अरूलाई
दबाएर होइन, आफूभित्रको शक्ति जगाएर अति मानव बन्नु थियो ।
जसरी तिमी बाँदरदेखि
हाँस्छौँ, महामावन तिमीदेखि हाँस्छ– अतः तिमी पनि महामानब बन्ने तिर लाग । यो कुरा
आज पनि त्यत्तिकै प्रासङ्गिक छ, जति त्यो बेला थियो ।