एक ब्यक्ती सधैं कुनै बाटो हुँदै आफ्नो अफिस जाने र घर फर्किने गर्थ्यो । ऊ हिंड्ने बाटोको छेऊमा एक भिखारी सधैं भिख मागिरहेको देखिन्थ्यो । त्यो भिखारी न हिंड्न सक्थ्यो न राम्ररी खान सक्थ्यो । त्यसमाथि उसको शरीर कुष्ट रोगले बाङ्गोटिङ्गो भएको थियो । सधैं दुखी भिखारीलाई देख्दा त्यो ब्यक्तिको मन अमीलो भएर आउँथ्यो । ऊ खिन्न भएर आफ्नो बाटो हिंड्न बाहेक केही गर्न सक्दैनथ्यो । एक दिन अफिसबाट फर्किन लागेका बखत ऊ त्यो भिखारिको नजिक जान्छ तब उसले चाल पाउँछ कि हिड्डुल गर्न नसक्ने मात्र होइन उसले त आँखा पनि देख्न नसक्ने रहेछ । यस्तो दयनीय स्थितिमा बाँचिरहेको भिखारिको अघिल्तिर उभिएर त्यो ब्यक्तिले भन्छ-" बाजे, तपाईं यती दु:ख पाएर, कुहिएको शरीर लिएर बाँचिरहनु भएको छ र हरेक दिन भिख माग्नुहुन्छ । यसरी बाँच्नु भन्दा त बरू इश्वरसँग किन तपाईंले आफ्नो मृत्यु माग्नुहुन्न ?" युवकको यस्तो कुरा सुनेर आफ्नो टाउको अलिकती उठाएर ईशारा गर्दै त्यो भिखारिले भन्छ -" हो बाबु, मैले पनि कतिपय बेला त इश्वरसँग आफ्नै मृत्यु को भिख पनि मागेँ तैपनी इश्वरले मेरो कुरा सुनेनन किनकी उनले मलाई यस कारण बचाइरहेका छन कि मलाई देख्ने जती पनि मानिसहरू छन उनिहरूले आँफैले आँफैलाई यो भनेर खुशी होउन कि कम्तिमा मेरो स्थिती त्यो मान्छेको जस्तो छैन र यो भनेर सचेत होउन कि कुनै दिन मेरो पनि स्थिती त्यो मान्छेको जस्तै हुन सक्छ ।
मेरो मनमा सधैं दुई कुरा आइरहन्छन त्यसैले म बाँचिरहेको छु पहिलो कुरा: मैले अरु केही गर्न नसके पनि म मानिसहरूको लागि उदाहरण बन्न सक्छु भने दोस्रो कुरा : हो कि इश्वरले मलाई मेरो जीवन उपहारको रुपमा दिनु भएको हो यो उपहारलाई मैले जती सक्छु सम्हाल्ने कोशीस गरिरहेको छु । यदि मैले इश्वरसँग मृत्यु मागेँ भने अथवा आत्महत्या नै गरेँ भने मैले इश्वरले दिएको जीवनरुपी उपहारलाई अपमान गरेको ठहर्छ । किनभने कसैले तपाईंलाई कुनै चिज उपहार दियो र त्यो उपहार तपाईंले मलाई मन परेन भन्दै दिनेवालालाई नै फिर्ता गर्नुहुन्छ भने उपहार दिनेवाला खुशी होला ? अवश्य हुँदैन । यसर्थ जती बाँच्छु हाँसेर बाँच्छु तर कदापि न मृत्यु को भिख माग्छु नत आत्महत्या नै गर्छु । पीडा नै सहेर भए पनि म बाँच्छु । हो म बाँच्छु । अरुको जीवनको परिभाषा के हो मलाई थाहा भएन तर मेरो परिभाषा हो कि जीवन को उद्धेष्य भनेको बाँच्नु हो आशाबादी र क्रितज्ञ बनेर बाँच्नु । भिखारिको कुरा सुनेर त्यो युवक छक्क पर्छ ।