एक गाउँमा एक गरीब केटा बस्थ्यो । आफू गरीब भए पनि उसको मिल्ने साथीले त्यस देशको राज दरबारमा राजाको सुसारेको रुपमा काम गर्थ्यो । एक दिनको कुरा हो त्यो गरीब केटा आफ्नो साथीलाई भेट्न राजाधानी तिर जान्छ । आफ्नो साथीलाई आफ्नो लागि पनि जागिरको ब्यबस्था गरिदिन आग्रह गर्छ । उसको साथीले राजा सँग बिन्ती गर्छ कि महाराज मेरो एक गरीब साथी छ, उसले जागिर खोजिरहेको छ, के हामी उसलाई कुनै काम दिन सक्छौँ ? राजाले सोध्छन : तिम्रो साथी के कुरामा राम्रो छ ? के काम गर्न आउँछ उसलाई ? खासै कुनै काम गर्न आउँदैन महाराज । खासै कुनै कुरामा ऊ राम्रो छैन, शायद अनुभव नभएर पनि होला । राजाले एक छिन् बिचार गर्छन् र भन्छन ठिकै छ, उसको लागि खाने र बस्ने व्यवस्था गर्नु, कुनै दिन ऊ काम लाग्न सक्छ । त्यो गरीब केटाले अब राजदरबारमा बसेर खान लाउन पाउने भयो । एक दुई बर्ष यसरी नै बिते पछी एक दिन राजाले उसलाई भन्छन भाई मैले हाम्रो राज्यको दुर्गम भेगमा जनताबाट कर उठाउन पाएको छैन । उनिहरूले १० बर्षा देखिको कर बुझाएका छैनन्न । के तिमी सबै दस्ताबेज लगेर त्यहाँ पुगेर कर उठाएर ल्याउन सक्छौँ ? त्यो केटोले फूर्तीका साथ हुन्छ मराज म जान्छु भनेर सबै बिल तथा खाता पाता लगेर त्यो दुर्गम गाउँतर्फ लाग्छ । त्यो गाउँ यती दुर्गमा थियो कि त्यहाँका जनताले निक्कै दु:ख पाएका थिए, अनिकाल र भोकमरीले सताउने गर्थ्यो तैपनी राज्यको कुनै ध्यान जान सकेको थिएन । जब ऊ सरकारका तर्फबाट त्यो गाउँमा तीरो र कर उठाउन गयो तब गाउँलेहरू निक्कै दुखी भए । राज्यलाई कर नतिर्नु सजायँ पाइने डर, तिर्नु कसरी तिर्नु ? १० बर्षको कर एकै चोटि तिर्दा त धेरै गाउँलेहरूको उठिबास लाग्ने निश्चित भयो । त्यो केटोले एक्छिन मनमनै सोच्यो र सबै गाउँलेहरूलाई भेला गरेर भन्यो, आदरणीय आमा बाबा दाजु भाई दिदी बहिनिहरू, खासमा म राजाले कर उठाउन नियुक्त गरेको अधिकारी हुँँ तर यो चोटी हजुरहरूको गाउँमा म राजाको निक्कै खुसी लाग्दो समाचार सुनाउन आएको छु । राजाले हजुरहरूको निक्कै नै चिन्ता गरीबक्सिन्छ, उहाँ अब छिट्टै तपाईंहरूलाई भेट्न पनि आउँदै हुनुहुन्छ र यो पटक मलाई तपाईंहरूसँग कर उठाउन होइन तपाईंहरूको कर माफि गरिदिन पठाउनु भएको छ । ल हेर्नुस् अब तपाईंले १० बर्षको १ कौडी कर पनि तिर्नु पर्दैन, भन्दै उसले सबै तिरो तथा कर सम्बन्धी बील तथा रसिदहरूमा आगो लगाइदिन्छ । आफूले तिर्नु पर्ने कर मिनाहा दिएकोमा सबै गाउँलेहरू खुसीले गदगद हुन्छन र बलिरहेको आगो वरिपरि उभिएर राजाको जयजयकार गर्न थाल्छन् । हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजाको आयू लामो होस् । आदि आदि । यसरी सबै दस्ताबेज जलाएर त्यो केटा दरबार फर्किन्छ । उसलाई दिएको मिति भन्दा छिट्टै फर्किएको देखेर राजाले सोध्छन, भाई तिमी त छिट्टै फर्किएछौ त के तिमीले १० बर्षको सबै कर उठायौ ? त्यो केटोले उत्साहित हुँदै भन्छ,हो महाराज मैले सबै कर उठाएँ र तपाईंलाई आवश्यक परेको अत्यन्तै जरूरी कुरा किनेर ल्याएँ । राजाले अली कुरा बुझ्दैनन ? उनले सोध्छन, के ल्यायौ मेरो लागि के ल्यायौ भन त ? त्यो केटोले भन्छ महाराज हिरा मोती ल्याउ भने पनि हजूरको दरबारमा चाहिनेजती हिरा मोती छन, सुन चाँदी ल्याउँ भने पनि मनग्गे सुनचाँदी छ, घोडा ल्याउ भने पनि छन हात्ती ल्याउँ भने पनि छन । त्यसैले मैले तपाईंसँग नभएको तर तपाईंलाई निकै आवश्यक कुरा ल्याएको छु महाराज, जुन कुरा तपाईंलाई आपद बिपद पर्दा काम लाग्न सक्छ । राजाको धैर्यको बाँध भत्किनै लाग्यो उनले एक सेकेण्ड पनि नपर्खिकन सोध्छन भन न भन के ल्यायौँ ? उसले भन्छ महाराज मैले सबै तिरो उठाउने रसिद गाउँलेकै अगाडि जलाइदिए र उनिहरूको तर्फबाट हजुरलाई आशिर्बाद ल्याइदिएको छु हजुर । यस्तो मूर्ख कुरा सुनेर राजा त्यो केटा सँग निक्कै रिसाउँछन । मैले तलाई यतिञ्जेल पालेर राखेको यसैको लागि हो ?? जा, अब तँ झ्यालखान बस्नु पर्छ । राजाले उसलाई जेलमा थुन्ने आदेश दिन्छन । दिन बित्दै गए, राजाको महत्वकाक्षा बढ्दै गयो । एक दिन त्यो राज्यमा छिमेकी राज्यले आक्रमण गर्यो । यस्तो स्थिती आयो कि राजाको परिवार पनि खतरामा पर्यो । राजाले झल्यास्स त्यही केटोलाई सम्झिए, ल ठिकै छ रिसको झोकमा मैले तिमीलाई जेलमा त हालेँ तर तिमी असहाय हुँदा मैले सहयोग पनि त गरेको हुँ , ल अब मलाई तिम्रो मद्दत चाहियो, कसरी मैले शत्रुबाट बँचाउने ? त्यो केटोले तुरुन्तै त्यो दुर्गम गाउँको बारेमा सम्झियो, जहाँ कसैले पनि आँखा लगाउन सक्दैनथ्यो । उसले मध्य रातमा राजाको परिवारलाई त्यो गाउमा पुर्यायो । आफ्ना प्रिय राजालाई संरक्षण गरेर राख्न गाउलेहरू सबै राजी खुसी भए । किनकी उनिहरूले सम्झिएका थिए कि तिनै राजाले त इनिहरूको त्यतिका धेरै तिरो माफ गरिदिएका थिए । शत्रुले उनको राज्यमा आक्रमण गरेर सत्ता हातमा लिए तर त्यो गाउँको बारेमा थाहा पाएनन्न । पछी त्यहीँ गाउँलेहरूको साथ र सहयोगले ती राजाले फेरि आफ्ना सैनिकहरू एक जुट बनाए र शत्रुको पञ्जामा परेको राज्यलाई पुन: आफ्नो हातमा लिए । मित्रहरू जीवनमा पैसा मात्र कमाइ होइन, नाम,इज्जत, आत्मसम्मान र आशिर्बाद पनि कमाइ नै हो ।
तर कतिपय मानिसहरू पैसा कमाउने बहानामा यस्ती ब्यस्त हुन्छन कि पैसाले किन्न नसक्ने चिज त कमाउनै बिर्सिन्छन । पैसाले कमाउन नसक्ने चिज हुन स्वास्थ्य, इज्जत, सम्बन्ध,आत्मसम्मान र आशिर्बाद । त्यसैले भनिएको छ, कतिपय मानिसहरू यती गरीब हुन्छन कि उनिहरूसँग पैसा बाहेक केही थोक हुँदैन ।