बुद्धको समयमा अङुलिमाल नामको एक क्रुर ब्यक्ती थियो जसले मानिसहरुको हत्या गरेर उनिहरुका औँलाहरुको माला लगाउने गर्थ्यो । अङ्गुलिमालको नाम सुन्ने बित्तिकै सबैको होस् हवास उड्ने गर्थ्यो । एक चोटि अङ्गुलिमाल त्यो गाऊमा प्रबेश गर्छ जहाँ बुद्ध केही समयदेखी आफ्नो ज्ञान प्रचारको लागि बसेका थिए । जब अङ्गुलिमाल गाऊँ पसेको खबर सुनियो तब सबै गाउलेहरू बीच भागाभाग मच्चिन्छ र गाउलेहरूले बुद्धलाई पनि त्यहाँबाट भागेर ज्यान जोगाउन सल्लाह दिन्छन । तर बुद्ध कतै नभागिकन जहाँ सुरुमा बसेका थिए त्यही नै अडिग बनेर बसिरहन्छन । जब अङ्गुलिमाल बस्तिमा पस्छ , सारा बस्ती सुन्सान थियो, यसरी सुनसान बस्तिकै बीचमा बुद्धलाई निडर बनेर उभिएको देखी अङ्गुलिमालले गर्जिदै भन्छ, "ए तैले मलाई चिनेको छस ? तलाई म देखी डर लागेको छैन ?" अङ्गुलिमालको कुरा सुने पछी बुद्धले भन्छन , "डराएका त तिमी पो छौ , म किन डराउने ? तिमी भित्र लुकेको हिंसाले नै बताएको छ कि तिमी कती डरपोक छौ भन्ने । यदी तिमीमा कुनै डर हुँदैनथ्यो भने तिमीले किन अरुको हत्या गर्दै हिड्थ्यौ त ?" साथै बुद्धले भन्छन "ठीक छ यदी तिमीले मलाई मार्न चाहन्छौ भने मलाई मार, म मर्न तयार छु तर एउटा मेरो सर्त छ यसमा । ल यो पिपलको रुखका पाँच वटा पात टिपेर ल्याउ त ।" बुद्धको कुराले भित्रभित्रै क्रुद्ध बनेको अङ्गुलिमालले छिटो छिटो पिपलका पात टिपेर बुद्धलाई दिन्छ , ती पातहरु फेरि अङ्गुलिमाललाई फिर्ता दिदै बुद्दले भन्छन , "लत अङ्गुलिमाल तिमीले अघि चुडाएका यी पातहरू जस्ताको त्यस्तै रुखको हाँगामा जोड त ।" अब भने अङ्गुलिमाललाई बेचैनी हुन्छ । ऊ अल्मलिएको देखेर बुद्धले भन्छन "हेर अङ्गुलिमाल तोड्न र बिगार्न त सबैले सक्छन तर जसले जोड्न र सपार्न जानेका हुन्छन उनिहरू नै साँचो अर्थमा बीर हुन, जुन कुरा तिमीले पहिले जस्तो थियो त्यस्तै अवस्थामा फर्काउन सक्दैनौ भने त्यो कुरालाई तोड्ने र बिगार्ने अधिकार तिमीलाई कस्ले दियो । तिमी बीर तब बन्न सक्छौ जब अरुको मद्दत गर्छौ, कल्याण गर्छौ, अरुलाई दु:ख दिने र हत्या गर्ने केवल कायर ब्यक्तिले मात्र हो । बुद्धका कुराले अङ्गुलिमाल असिन पसिन हुन्छ , शायद उसले कुरा बुझिसकेको थियो त्यसैले ऊ सबै हिँसा त्यागेर बुद्धको पाऊ छुन पुग्छ ।
त्यसैले मित्रहरू मान्छेको रिस र हिंसाको पछाडि उसको डर लुकेको हुन्छ। यदी ऊ डराएकै छैन भने किन उसलाई रिसाउन जरुरी हुन्छ र किन उसलाई लडाईं झगडा गर्नु पर्छ र ? हतियार उसैले बोक्छ जो भित्र बाटै डर छेरुवा हुन्छ । अरुको हत्या गर्नेहरू पनि तीनै हुन जो कतै न कतै भय त्रासले लखेटिएका हुन्छन । बीर त्यही हो जसले अरुलाई सहयोग गर्छ बिगार्ने होइन सधैँ सपार्ने र महान कार्य गर्छ ।