एक पटक एक ट्रेनर ले आफ्नो तालिममा सहभागीहरुको बीचमा एक नौलो खेल खेलाउछन । खेल बमोजिम उनले सहभागी जती सङ्ख्यामा छन् त्यती नै सङ्ख्यामा बेलुनहरू ल्याइ ती बेलुनमा हावा भर्न लगाउछन । यसरी हावा भरिएका बेलुनमा बाहिरबाट एक एक जना सहभागीहरूको नाम लेख्छन र ती बेलुनलाई ठुलो टोकरिमा राखी ट्रेनिङ चलिरहेको हलमा एकै चोटि उडाइदिन्छन । हावा भरिएका ती बेलुनहरू जब हल मा उडिरहेका थिए तब ट्रेनरले भन्छन "ल अब पाँच मिनेट भित्र आफ्नो नाम लेखिएको बेलुन समातेर मेरो नजिक ल्याउनुस् । "ट्रेनरले यती भन्दा नभन्दै हल भित्रका सबै सहभागीहरु एकै चोटि उठेर आफ्नो नाम लेखिएको बेलुन खोज्न थाल्छन् । यसरी भीडमा खोसाखोस् र तछाड मछाड गरेर आफ्नो नाम लेखिएको बेलुनको पछी दौडिएको हुनाले सबै बेलुनहरू फूट्न पुग्छन । अन्त्यमा कसैले पनि आफ्नो नाम लेखिएको बेलुन फेला पार्न सक्दैनन ।
यसपछी फेरि ट्रेनरले अघिको जस्तै बेलुनहरूमा हावा भरेर सहभागीको नाम लेखी हावामा उडाउछन तर यसपटक भने उनले सहभागीलाई अनौठो निर्देशन दिन्छन, निर्देशन् बमोजिम यसपाली पनि सहभागीले आफ्नो नाम लेखिएको बेलुन नै समातेर ट्रेनरको नजिक ल्याउनु पर्थ्यो तर यसपटक उनिहरूले आफ्नो बेलुन नखोजेर आफ्नो हातमा जस्को नाम लेखिएको बेलुन आउछ त्यसलाई सुरक्षित साथ सम्बन्धित ब्यक्तिलाई बुझाउनु पर्थ्यो । जब खेल सुरु भयो यस पटक सहभागिहरू तछाड मछाड् नै गरेनन किनकी भागाभाग गर्न जरुरी नै थिएन उनिहरूलाई । उनिहरूले आफ्नो नजिक जस्को नाम लेखिएको बेलुन आउछ त्यसलाई मात्र चुपचाप समातेर सम्बन्धित ब्यक्तिलाई दिनु पर्ने थियो । अनी त के चाहियो , यसरी आफ्नो बेलुनको पछी नदौडिएर आफ्नो हातमा जसको नाम लेखिएको बेलुन आउछ त्यो बेलुन सम्बन्धित ब्यक्तिलाई सुरक्षित तरिकाले दिएको हुनाले कुनै पनि बेलुन फुटेनन अन्त्यमा सबैले आफ्नो आफ्नो बेलुन पाए र सबैजना खुशी भए ।
यो हो सहकार्य र मेलमिलापको नमूना । मान्छेहरू हर बखत अरुको कुभलो चिताउछन यो नबुझेर कि आफूले गरेको कुकर्म घुमी फिरी आफ्नै आगनमा आइपुग्छ । कोही धनी बन्नको लागि कोही गरीब बन्नै पर्दैन, अब हामी धनी गरीब सफल असफल भन्दा माथि उठौ र सबै जना सम्पन्नता तिर लागौ । किनकी सम्पन्नतामा कुनै तुलना रहन्न । समाज कसैले हार्ने कसैले जित्ने होइन सबैले जित्ने सिद्धान्तबाट अगाडि बढ्नुपर्छ ।