होली पर्व अर्थात रङ खेल्ने पर्व, खानपान भन्दा पनि रङसँगै खेलेर आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने अनौठो पर्व अनि वसन्त ऋतुलाई स्वागत गर्ने पर्वको रुपमा नेपालमा हर्षोल्लासका साथ मुलुकभर मनाइन्छ । होली पर्वलाई पौराणिक कथाका आधारमा हिरण्यकशिपूका पुुत्र प्रह्लादसँग जोडेर हेरिन्छ। श्रीमद्भागवतको सातौँ स्कन्धमा हिरण्यकशिपु तथा प्रह्लादको प्रसंग आएको छ। प्रह्लाद भगवत् भक्त थिए। राक्षस कुलमा जन्मे पनि उनले ईश्वरलाई संसारको नियन्ता माने र उपासना गरे। बुबा हिरण्यकशिपुले ‘के पढ्यौ पुत्र’ भनेर सोध्दा उनले नवधा भक्तिका सन्दर्भमा चर्चा गरे। उनले पितालाई भने, ‘श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवन्। अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम्।’
अर्थात् ईश्वरका कथा सुन्नु, कीर्तन गर्नु, स्मरण गर्नु, सेवा गर्नु, पूजा गर्नु, नमन गर्नु, ईश्वरप्रति भक्तिभावले दास्यता दिनु र ईश्वरसित आत्म निवेदन गर्नुु हो। यही नै मेरो आजसम्मको शिक्षा हो। यो कुरा कशिपुलाई मन परेन। कशिपुले प्रह्लादलाई मार्न अनेक उपाय रचे। ईश्वरभक्त वा सत्यका अघि असत्य र अधर्मरूपी कशिपुको केही चलेन। कशिपुकी बहिनी होलिकालाई अग्निले नडढाउने वरदान प्राप्त थियो। अन्ततः होलिकाले प्रह्लादलाई काखमा राखी चितामा बसिन्। अग्निले होलिकालाई जलाए तर प्रह्लादलाई केही भएन। त्यहाँ सत्य, धर्म, भक्तको जित भयो।
होलीकाले आफूले पाएको अग्नीप्रतिरोधक शक्तिको वरदानलाई दुरुपयोग गरेको हुनाले जलेर मर्नु परेको विश्वास गरीन्छ । वास्तवमा उनीले पाएकी वरदान उनी एक्लै अग्नीमा होमिएको बेला मात्र लागु हुन्थ्यो भन्ने विश्वास गरीन्छ । यसप्रकार, असत्य माथि सत्यको विजय भएको यही घट्नाको स्मृतिमा उल्लाख मनाउन “सत्य डग्दैन असत्य टिक्दैन” भन्ने मान्यताका साथ यो पर्व शुरुवात भएको भन्ने कथन पनि व्यप्त रहेको छ। । होली पर्वको ऐतिहासिक पृष्ठभूमिबाट यसको धार्मिक महत्व रहेको तथ्य प्रष्ट हुन्छ ।
उक्त प्रसंगमा असत्य, अधर्म, पापको हार देखाएर प्रह्लादलाई भक्तका रूपमा प्रमाणित गरिएको छ। यही सन्दर्भ नै होलिका दाह र होली पर्वका रूपमा आएको पौराणिक मान्न्यता हो।
होलीका सन्दर्भमा नारदीय पुराणमा उल्लेख गरिएका कारण त्यसलाई नै प्रामाणिक आधार मानेर तथ्यगत रूपमा उपस्थित हुनुपर्ने अवस्था देखिन्छ। त्यसैले नारदीय पुराण नै होली पर्वका सन्दर्भमा देखिएको पहिलो प्रमाण मानिएको छ। उक्त पुराण १२५औँ अध्यायमा भनिएको छ, ‘फाल्गुने पूर्णिमायां तु होलिकापूजनं मतम्। संचयं सर्वकाष्ठानामुपलानां च कारयेत्। तत्राग्निं विधिवत्हुत्वा रक्षोघ्नै मन्त्रविस्तरैः।’
अर्थात्, फाल्गुण महिनाको पूर्णिमाका दिन होलिका पूजा गर्नुपर्छ। उक्त पूजामा दाउरा र गोबरका गुइँठा जम्मा गरेर रास बनाई आगो लगाउने र त्यसमा पूजन गर्ने परम्परा उक्त पुराणमा उल्लेख गरिएको छ। यो होलीका सन्दर्भमा देखिएको पहिलो प्रमाण हो। यहाँ आहुतिको हवन समेत उल्लेख छ। मन्त्रोच्चारणसहित हवन गर्ने र उक्त होलिकालाई पूजन गर्ने परम्परालाई यहाँ उल्लेख गरिएको पाइन्छ।
पूजा गर्नुपूर्व होलिका को हो भन्ने सन्दर्भमा उल्लेख गरिए अनुसार, ‘होलिका राक्षसीचेयं प्रह्लादभयदायिनी’ (होलिका राक्षसी हो, जसले प्रह्लादलाई मृत्यु भय देखाइएकी थिई) भन्ने प्रमाणलाई उक्त श्लोकले उद्धृत गरेको पाइन्छ। आगो लगाएर होलिका दाह गर्ने सन्दर्भमा रक्षोघ्न मन्त्रको उल्लेख गरिएको छ। उक्त मन्त्र ‘असृक्पाभयसंत्रस्तैःकृता च होलिबालिशैः। अतस्त्वां पूजयिस्यामि भूते भूतिप्रदा भवः।’ अर्थात्, राक्षसको भयले सन्त्रस्त भएका हामी मानिसलाई कुनै पनि अवस्थाको डर, त्रास तथा अभावलाई नदिने गरी निर्भयता प्रदान गर भन्नु नै यसको तात्पर्य देखिएको पाइन्छ।
होलिका दहन गरेर खरानीको लेप लगाउने र उक्त लेपले जीवन वृत्तलाई सहज बनाउने सन्दर्भलाई यसमा अभिव्यक्त गरिएको छ। होली सांस्कृतिक पर्व हो। यसको सांस्कृतिक महत्व रहेको छ। खासगरी असत्यमाथि सत्यको, अज्ञानमाथि ज्ञानको, अधर्ममाथि धर्मको, अविवेकमाथि विवेकको र नास्तिकमाथि आस्तिकको र अभक्तमाथि ईश्वरका भक्तको विजय होली पर्वलाई मानिएको पाइन्छ।
सत्य र ईश्वर भक्तिलाई पछ्याएर प्रह्लादले गरेको स्तुति र होलिकाको वरदानलाई निस्तेज पार्नू होलीको महत्व रहेको पाइन्छ। ईश्वर वरदान दिन्छन्, तर त्यो वरदान भक्तमाथि प्रयोग गर्ने छुट कसैलाई पनि छैन भन्ने आदर्श प्रस्तुत होलिका दहनले देखाएको आदर्श बाटो पनि हो।
वसन्त आगमनमा संकल्प
यो पर्वलाई वसन्तोत्सव पर्वका रूपमा पनि लिइन्छ। वसन्तको आगमनलाई स्वागत गर्न होली पर्वको शुभारम्भ गरेको पाइन्छ। फाल्गुण महिनालाई बिदा गरेर वसन्तको अभ्युदयका रूपमा होली पर्वलाई लिने गरिन्छ। पुराणमा भनिएको छ, ‘संवत्सस्य दाहोऽयं कामदाहो मतान्तरे।’
अर्थात् पुरानो वर्षको संवत्सरलाई दाह गरेर नयाँ संवत्सरलाई स्वागत पनि होलिका दाहको महिमा बनेको छ। यसका साथै मानव मनका असत् संकल्पलाई जलाएर नयाँ संकल्पसहित संवत्सर वा नयाँ वर्षलाई स्वागत गर्ने दिनका रूपमा पनि होली पर्वको महत्व मानिएको पाइन्छ।
होलिका दहनपछि बलिरहेको अग्निको परिक्रमा विधान पनि पुराणमा उल्लेख छ। नारदीय पुुराणका अनुसार, ‘तत्र किल किला शब्दैस्तालशब्दै मनोहरैः। तमग्नि त्रिः परिक्रम्य गायन्तु च हसन्तु च।’ अर्थात्, बलिरहेको अग्निलाई गाउँदै, नाच्दै, ताली बजाउँदै तीनपटक परिक्रमाको विधान यसमा गरिएको छ।। सम्पूर्ण रोगव्याधि, असत र अधर्म नाश गरेर बालबालिकादेखि सबैलाई स्वस्थ बनाऊ भन्ने सन्देश होलिका परिक्रमाको उद्देश्य देखापरेको पाइन्छ। त्यसो गरेमा मानवीय कर्म र सांस्कृतिक मान्यताले पूर्णता पाउने विश्वासमा यो पर्व अडिएको देखिन्छ।
होलिका दहनको समय रात्रिको तेस्रो प्रहर मानिएको छ। जतिबेला पनि होली दहन गर्ने उत्तम समय मानिँदैन। होलिका दाहको समय रात्रिको तेस्रो प्रहरको भद्रा नक्षत्र कटेपछि मात्र मानिएको छ। त्यसैले भनिएको छ, ‘राकायामद्वयादूध्र्वं चतुर्दश्याँ यदा भवेत्। होलां भद्रावसाने तु निशीथान्तेऽपि दीपयेत्।’ अर्थात् होलिका दहन पूर्ण चन्द्रमाको अवस्था आएमा वा भद्रा नक्षत्र परेको छ भने रात्रिको तेस्रो प्रहरमा दहन गर्नु भद्रामा होली दहन अशुभ मानिएको छ।
बोलेर शंका हटाउने
पौराणिक कथामा उल्लेख छ, ‘जल्पन्तु स्वच्छया लोका निःशङ्का यस्य यन्मतम्। तेन शब्देन सा पापा होमेन च निराक्रिया।’ अर्थात्, आफ्नो मनमा लागेका कुुरा बोल्न पाउने र शङ्कारहित तरिकाले अभिव्यक्त हुनुपर्ने धारणा यहाँ उल्लेख छ। स्वेच्छाले बोलेका र शङ्कारहित अभिव्यक्तिका पाप होलिका दहनबाट मुुक्त हुने कुरालाई यहाँ राखिएको छ। फागुपूर्णिमाका दिन मनमा लागेको बोल्न पाउने प्राचीन परम्परालाई माथिको पद्यले उद्घाटन गरेको देखिन्छ।
होली नेपाल र भारतको अथवा भनौँ हिन्दू परम्पराको एउटा सांस्कृतिक पर्व हो। यसको आफ्नै प्रकारको परिवेश रहेको पाइन्छ। हिन्दी भाषामा भनिन्छ, ‘बूरा नमानो होली है।’ अथवा, नराम्रो नमान्नु होली हो। यसरी रङ खेल्न छुट दिएको देखिन्छ। यही नै होलिका दाहको मूल मान्यता आर्य परम्परा र संस्कृतिमा देखिएको प्रारूप हो भन्न सकिन्छ। तर, आजभोलि होली सांस्कृतिक पर्वभन्दा पनि फेसनका रूपमा उदाएको देखिन्छ।
होली आफैँमा रङको पर्व मानिन्छ। मीठामीठा खानेकुरा खाने र रङमा रंगिनुु यसको महत्व रहेको देखिन्छ। होलिका दाह पनि कतिपय स्थानमा गरिन्छ भने कतिपय स्थानमा त्यसको महत्वलाई कमजोर पारिएको छ। खानु, पिउनु र रङरोगनमा रंगिनु होली पर्वको महत्व मानिएको छ, आजकल।
होलीगीतका नायकनायिका
काठमाडौं उपत्यकामा फाल्गुण अष्टमीका दिन वसन्तपुरमा ध्वजासहित लिङ्गो ठडाइन्छ। त्यो लिङ्गोमा विभिन्न रङका ध्वजा रहेका हुन्छन्, तिनलाई चीर भनिन्छ। फागु खेलेपछि त्यो लिङ्गोलाई भद्रकालीमा लगेर ठडाइन्छ र दाह गरिन्छ। त्यसलाई चीरदाह भन्ने परम्परा छ। विभिन्न रङका ध्वजापताकामा विद्यमान रङले होली रङको पर्व हो भन्ने संकेत गर्छ।
सुदूरपश्चिममा विभिन्न किसिमका गीत गाएर उल्लासमय तरिकाले मनाइन्छ। राधा र कृष्णलाई नायकनायिका मानेर गीत गाई होली मनाउने परम्परा आज पनि विद्यमान छ। सुदूरपश्चिममा गाइन्छ, ‘बृज खेलत होरी राधा गोरी।’ भारतको वृन्दावनलाई बृज भनिन्छ। त्यहाँ राधा र कृष्णलाई आधार मानेर होली गीत गाइन्छ। यो पम्परा नेपालको सुदूरपश्चिममा पनि छ।
सुदूरपश्चिममा गाइने अवधि गीत छ:
‘को नै वोर जाव भनैला
राजै कौ नै वोर जाव भनैला।
पूरवै जा भने सुुरजेले खाला,
पछिमै जा भने बगुुआले खाला।
दखिनै जा भने औलाले खाला,
उत्तरै जा भने हिमालैले खाला।’
यहाँ नेपालको पूर्व, पश्चिम, उत्तर, दक्षिणको प्रकृति र त्यसले दिने सन्देशलाई उद्घाटित गरिएको छ। यी गीतका हरफले होलीको भावना र त्यसले अभिव्यक्त गर्ने सन्दर्भका साथै नेपालको भौगोलिक अवस्थाको चिन्तननाई गहिरो तरिकाले अभिव्यक्त गरेका छन्। नेपालको मिथिला क्षेत्रमा होलीलाई उत्सवका रूपमा मान्ने गरिन्छ।
मिथिला परिक्रमाको आरम्भ फाल्गुण औँसीदेखि गरिन्छ र फाल्गुण पूर्णिमाका दिन मिथिला परिक्रमाको समापन हुुने गर्दछ। नेपालको १०७ किलोमिटर र भारतको १३ किलोमिटर बाटोले मिथिला परिक्रमालाई ओगटेको छ। यो परिक्रमा त्रेतायुगदेखि आरम्भ भएको हो भन्ने विश्वास मिथालाञ्चलमा रहेको छ।
पूर्णिमामा मिथिला परिक्रमा समापन हुने हुनाले मिथिलाको होली अथवा तराई होली पूर्णिमाका दिन नभई प्रतिपदाका दिन हुने गरेको छ। प्रतिपदाका दिन मंगलबार परेमा उक्त दिन होली खेलिँदैन। मंगलबार मिथिलामा माछामासु नखाइने हुनाले होलीलाई नै अर्को दिन मनाउने परम्परा विद्यमान रहेको देखिन्छ। मिथिलामा देवर भाउजूको होली शृंगारिक मानिन्छ। होलीलाई मिथिलामा राष्ट्रिय पर्वका रूपमा मनाउने परम्परा अहिले पनि विद्यमान रहेको पाइन्छ।
होलीको महत्व
आजको समाज विविधतायुुक्त छ। यो विविधतामा एकताको सन्देश नेपाली समाजले होली लगायत पर्वमार्फत दिएको पाइन्छ। होली रङको पर्व हो। होलीमा ठूलोसानो, धनीगरिब, ऊँचनीचको भावना रहेको देखिँदैन। कुनै पर्व र त्यसको गरिमा त्यतिबेलासम्म जीवन्त रहन्छ, जतिबेलासम्म त्यसको भावनागत स्वरूप गतिशील बनेको पाइन्छ।
कुनै पनि पर्वमा भावनागत परिवेश जीवन्त रहेमा त्यसका सकारात्मक पक्ष बाहिर आएका हुुन्छन्। नेपाल र नेपालीमा विद्यमान भावलाई मानवीय सन्दर्भले जोडेको हुुन्छ। त्यही परिवेशमा आएको भावलाई गतिशील तुल्याउने चेतनालाई मानवीय चेतना मानिएको हुन्छ। होलीलाई मनाउने र त्यसको संस्कृतिलाई जीवन्त राख्ने आधार विविध किसिमका छन्।
त्यसैले नेपाली परम्परामा देखिएका चाडपर्वको संरक्षण संवद्र्धन आवश्यक छ। आजको पुस्ता हाम्रा संस्कार, परम्परा, संस्कृति र पर्वको महत्वबारे अनभिज्ञ छ। त्यो अनभिज्ञतालाई हटाएर ज्ञानको दीपकले जीवन्तता दिनु जरुरी छ। पर्व मनाउने परम्परामा धेरै परिवर्तन आएको पाइन्छ। सबैलाई बुझाएर पर्वहरूको यथोचित विन्यास गरेर युवा पुस्तालाई समेत जानकारी गराउनुपर्छ।